हरिप्रसाद भण्डारी
देवता
“सिस्टर ! म यहाँ
आएको कति दिन भयो ?”भावुक स्वरमा अञ्जनाले सोधिन् ।
“पन्द्र दिन,
सात दिन त आइसीयूमै बस्नुभयो ।”शिरदेखि
पाउसम्म सुरक्षा कवच लगाएकी नर्सले भनिन् ।
“पन्द्र दिन !”सासै सासमा अञ्जनाले भनिन् । यसो भन्दै गर्दा
उनका आँखा रसाए र दुई थोपा आँसु तकियामा खसे । बिस्तारै उनको मनमा बाँच्ने आशा
पलाउँदै गइरहेको थियो । त्यसैले ती आँसु दुःखका थिए की खुसीका एकिन गर्न सकिनन् ।
“अञ्जनाजी ! कस्तो छ तपाईँलाई ?”मायालु आवाज उनको कानमा ठोकियो । सुरक्षा
कवचका कारण आगन्तुकको अनुहार ढाकिएको थियो । तैपनि उनले चिनिन्, उनी डा. विकास थिए । त्यो मलहम मिश्रित आवाज उनले अस्पताल आएदेखि नै
सुन्दै आइरहेकी थिइन् ।
अञ्जना बोल्न नभ्याउँदै डाक्टरले भने, ‘नआत्तिनोस्,
अब तपाईँ खतरामुक्त हुनुहुन्छ ।”
शुरुको अवस्था सम्झेर अञ्जनाको छाती चरक्क चर्कियो । मनमनै भनिन्,
‘कति डरलाग्दो रोग ! नित्य पूजा गर्ने देवीदेवतासँग प्राण रक्षाको
भीख माग्दा पनि पीडा कम भएको थिएन । बाँच्ने आशा मरिसकेको थियो । उहाँहरूले गर्दा
नयाँ जीवन पाएँ ।”
“यो औषधि खानुस् ।’ नर्सको
आवाज सुनेपछि उनी झस्किन् । औषधि लिँदै उनले सोधिन्, “डाक्टर साहेबलाई सधै यहीँ देख्छु । घर गएको
जस्तो पनि लाग्दैन ।”
“कोरोनाको सङ्क्रमण देखिन थालेपछि उहाँ यहीँ
बसेर बिरामीको सेवा गर्नुभएको छ । उहाँले गर्दा धेरै बिरामी निको भएका छन् ।
उहाँको सेवाभाव देखेर हामीलाई पनि काम गर्न हौसला मिलेको छ ।”
निको भएर घर जाने बेला अञ्जनाले
डाक्टरसँग अनुरोध गरिन्, “डाक्टर साहेब हजुरको एउटा फोटो लिन मिल्छ ?”
“किन र ?”अचम्म मान्दै डाक्टरले सोधे ।
“पूजा कोठामा राख्न ।”मायालु आवाजमा अञ्जनाले भनिन् ।
-0-
घनश्यामको चिन्ता
छोरीलाई विदाइ गरेपछि घनश्यामको घर सुनसान भयो ।
सबैका आँखामा आँसु थिए । कसैको पनि अनुहार उज्ज्यालो थिएन ।
कमलाकी आमा भित्र कोठामा बसेर सुकसुकाइरहेकी थिइन् । बुवा नुन खाएका कुखुराजस्तै झोक्राएर बसिरहेका थिए । सधैं चकचक गर्ने र कहिल्यै भावुक नहुने भाइ एकाहोरिएर बसिरहेको थियो । उसका हातमा मोवाइल होइन, फ्रेममा रहेको दिदीको तस्वीर थियो । दिदीको तस्वीर हेरेर घरीघरी आँखाबाट बग्दै गरेका आँसु पुच्दै थियो ।
साँझसम्मै यो क्रम जारी रह्यो ।
अर्को दिनदेखि सबैको स्वभावमा बिस्तारै परिवर्तन देखिन थाल्यो । सबैका अनुहार हसिला हुँदै गए । तर घनश्यामको अनुहार भने उज्ज्यालो भएन । एकान्तमा झोक्राएर बस्ने र पिरलो गर्ने क्रम जारी रह्यो ।
लोग्नेको अवस्था देखेर उनकी श्रीमती चिन्तित भईन् । मनमनै भनिन्, ‘छोरीलाई कति धेरै माया गर्नुहुन्थ्यो । विचरा विवाह गरेर गएपछि मुटुको टुक्रा झिकेर फालेजस्तै भएको छ ।’
त्यसपछि उनले सम्झाउने प्रयास गरिन्, ‘चिन्ता नगर्नुस् । हामी आफैले राजीखुसीले दिएका हौँ क्यारे । छोरीको जात सधैं माइतीमा बस्ने कुरा पनि हुँदैन । एक दिन त दिनै पथ्र्यो, दियौँ गई ।’
त्यसपछि उनी पनि भक्कानु छोडेर रुन थालिन् ।
केही समय वातावरण भावुक बन्यो ।
‘लक्ष्मी म छोरीका पिरले दुःखी भएको होइन । छोरीको विवाहमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको हुँ ।’धेरैबेरको मौनतापछि घनश्यामले भने।
+++
तिलोत्तमा–८,